श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाँण

श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाँण

बागलुङ : गृहमन्त्री बालकृष्ण खाँणले श्रमिकको सुरक्षामा सरकार कटिबद्ध रहेको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले मजदुर र श्रमिकको सुरक्षाका लागि गृह मन्त्रालय दत्तचित्त भएर लागिपर्ने उल्लेख गरे। 

'गरिबीको रेखामुनि रहेका श्रमिकलाई कसरी सहज रुपमा अगाडि बढाउन सकिन्छ त्यही हाम्रो लक्ष्य हुनुपर्छ, श्रमिकको हक, हित र सुरक्षा गर्ने सरकारको मुख्य दायित्व हो,' मन्त्री खाँणले भने। मुलुकमा राजनीतिक परिवर्तन भए पनि आम नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै उनले आम नागरिकको जीवनमा परिवर्तन ल्याउन सबै लाग्नुपर्ने बताए। कोरोना महामारीमा श्रमिक र मजदुर ठूलो समस्यामा परेको उनको भनाइ थियो। 

नेपालको प्रजातान्त्रिक आन्दोलनको जग नै मजदुर आन्दोलन भएको मन्त्री खाँणले सो अवसरमा स्मरण गरे। 'प्रजातान्त्रिक आन्दोलनभन्दा मजदुर आन्दोलन जेठो हो, प्रजातान्त्रिक आन्दोलन र मजदुर आन्दोलन एक सिक्काका दुई पाटा हुन्,' उनले भने। 

जेठ २९, २०७९ आइतबार २०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।