युवा उद्यमका नाममा राज्यको अर्बौँ रुपैयाँ खर्च, उपलब्धि शून्य : मन्त्री गहतराज

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले युवा उद्यमको नाममा नाममा राज्यको अर्बौँ रुपैयाँ खर्च भएको बताएका छन्। राज्यले युवामा लगानी गरेको रकम सदुपयोग नभएको बताएका हुन्।
युथ भिजन, १० वर्षे योजना तथा राष्ट्रिय युवा नीतिको विषयमा शिक्षा पत्रकार सञ्जाल (ईजोन) र राष्ट्रिय युवा परिषद्ले काठमाडौँमा आज आइतवार गरेको परामर्श गोष्ठीमा बोल्दै मन्त्री गहतराजले विभिन्न कोष, प्रतिष्ठान, विकास समिति लगायतका नामबाट युवा उद्यमका नाममा अर्बौँ रुपैयाँ लगानी भएको र यसको सदुपयोग हुन नसकेको बताए।
उनले भने, ‘देशमा १४ वटा कोष रहेछन्, सबैको काम उस्तै–उस्तै हो, राज्यको अर्बौँ रुपैयाँ खर्च भएको छ तर उपलब्धि छैन’, ।
देशमा युवाको क्षमताअनुसारको काम र उद्यमको वातावरण बन्न नसक्दा हरेक दिन क्षमतावान् र देशलाई चाहिने युवा विदेश गइरहेकोमा भन्दै मन्त्री गहतराजले नारामा मात्रै नभएर व्यवहारमै सरकारले काम गर्नुपर्ने बताए। ‘क्षमतावान् र लाभपूर्ण उमेर समूहका व्यक्ति विदेश गएर अर्कैको देश समृद्ध बनाइदिन बाध्य छन्, उनीहरूलाई हामीले देशमै अवसर दिएर नेपाललाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्छ’, उनले भने।
कार्यक्रममा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, बाग्मती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालको उपस्थिति रहेको थियो।
जेठ २९, २०७९ आइतबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।