झाक्री र बालेन्द्रको प्रशंसा गर्दै गगनले दिए काठमाडौँको फोहोर दीर्घकालीन व्यवस्थापनको ६ सुझाव

झाक्री र बालेन्द्रको प्रशंसा गर्दै गगनले दिए काठमाडौँको फोहोर  दीर्घकालीन  व्यवस्थापनको ६ सुझाव

काठमाडौँ : काठमाडौँको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कांग्रेस महामन्त्री तथा कांग्रेस क्षेत्र नम्बर ४ का सांसद गगन थापाले ६ वटा  सुझाव दिएका छन्।

थापाले काठमाडौँबाट फोहोर उठ्न थालेकोमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र सहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमीको प्रशंसा गर्दै ल्यान्डफिल्ड साइडबारे भएको सम्झौता कार्यान्वयनमा जोड दिएका छन्।

फेरी फोहोर व्यवस्थापनको सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने उनको भनाई छ । सामाजिक सञ्जाल मार्फत उनले सार्वजनिक गरेको ६ सुझाव :

१. सहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औँ सम्झौता हो। हरेक पटक सङ्कट परे पछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशङ्का व्याप्त छ।यो स्वाभाविक संशयलाई यो पटक सम्झौता अक्षरशः र भनेकै समय सीमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ।

२.यसको लागि सङ्घीय सरकारले गर्ने भनी निर्दिष्ट गरिएको काम यस पटक एक ठाउँमा पनि नचुकी भनिएकै समय भित्र गर्न सहरी विकास मन्त्रालय को निरन्तर  तदारुकता जरुरी छ। सम्झौतामा लेखिएका केही काम सहरी विकास मन्त्रालय भन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्छ। ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ। खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ। कानुन बमोजिम तोकिए पछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ।

३. सङ्घीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरण समेत गर्न काठमाडौँ,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौँ। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यान्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहीँ अप्ठ्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ।

४.काठमाडौँ महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनी निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ। कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले का.म.न.पा. लाई सम्पूर्ण साथ दिनुपर्छ।
५.फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि  का.म.न.पा.सँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ।

६.कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुटाइएको फोहोर मात्र सङ्कलन गर्ने भनेको छ। सम्पूर्ण महानगरबासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ। कामनपाका सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो बडाभित्र  नगरवासीलाई सु-सूचित गर्ने लगायत को सम्पूर्ण तयारी गर्नुपर्छ।

यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ-आफ्नो जिम्मामा परेका काम गर्दै गयौँ भने फेरी १७६ औँ पटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन। काठमाडौँ फोहोरको सङ्कटबाट मुक्त हुन्छ।

जेठ २९, २०७९ आइतबार ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।