जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको उद्धार गर्न हेलिकप्टर पठाइयो

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको उद्धार गर्न हेलिकप्टर पठाइयो

काठमाडौंः सुर्खेतबाट जाजरकोट जाँदै गरेको कप्र-०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका गृह मन्त्रालयले जनाएको छ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटनामा परेको हो। अन्य चार जना भने सामान्य घाइते भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए।

गृहमन्त्री बालकृष्ण खाँणले गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रजिअ शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

प्रजिअ शाहीले गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिए।

जेठ २७, २०७९ शुक्रबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।