पृथ्वी राजमार्गको भासिएको स्थानबाट कार र मोटरसाइकल खसेको देखियो

पृथ्वी राजमार्गको भासिएको स्थानबाट कार र मोटरसाइकल खसेको देखियो
तस्बिर: सामाजिक सञ्जाल

काठमाडौंः पृथ्वी राजमार्गको सडक भासिएको स्थानबाट एउटा कार र मोटरसाइकल खसेको देखिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याम क्षेत्रमा वर्षाका कारण आज बिहान सडक भासिएको थियो।

मोटरसाइकलका चालक सकुशल छन्। मोटरसाइकल भने खसेको छ। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार मुग्लिङतर्फ जाँदै गरेको कार भने नदीमा पुगेको छ। “कार पहिरोले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन।”

हाल उद्धारका लागि गोताखोरको टोली र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। घटनास्थलमा नेपाली सेनाको टोली पनि जाँदैछ।

हाल सो स्थानमा बेलीबृजबिना यातायात सुचारु हुन असम्भव देखिएपछि सवारीहरूलाई जताबाट आएको त्यतै फर्काइएको छ।

जेठ २७, २०७९ शुक्रबार ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।