ओमानसँग हार्‍यो नेपाल, अंक तालिकामा छैटौं स्थानमा पुग्यो

ओमानसँग हार्‍यो नेपाल, अंक तालिकामा छैटौं स्थानमा पुग्यो
तस्बिर: क्यान

काठमाडौंः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को पहिलो खेलमा नेपाल पराजित भएको छ। ओमानले नेपाललाई १३ रनले हराएको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २११ रन बनायो। नेपाल २१२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिए पनि ४९ ओभर ४ बलमा अलआउट भयो। १९८ रनमै समेटियो।

नेपालका लागि सुनिल धमलाले यही खेलबाट एकदिवसीय डेब्यू गरे। उनले १२ रनको पारी खेले। नेपालका लागि सर्वाधिक रन आरिफ शेखले बनाए। उनले ६६ रनको पारी खेले। ओपनर सुवास खकुरेल ३ रनमै आउट भए।

देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्रसिंह ऐरीले १६ रन बनाएर आउट भए। विनोद भण्डारीले १४, सोमपाल कामी १३, करण केसी ८ र सन्दीप लामिछानेले २ रन बनाए। सुशन भारी शून्य रनमा रहे।

बलिङतर्फ नेपालका करण केसीले ५ विकेट लिए। सन्दीपले २ विकेट लिए। सोमपालले १ विकेट लिए।

ब्याटिङमा ओमानका जिसन मक्सुदले अविजित १०४ रन बनाए। खवार अलीले ३० रन बनाए। शोएब खानले २७ रन बनाए।

बलिङमा ओमानका जिसन मक्सुद र खवार अलीले ३/३ विकेट लिए। बिलाल खानले २ विकेट लिए।

हारसँगै नेपाल १२ खेलमा १२ अंकसहित अंक तालिकाको छैटौं स्थानमा छ। ओमान ३३ खेलमा ४२ अंकसहित शीर्ष स्थानमा छ।

लिग टु अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध शनिबार खेल्नेछ। तेस्रो खेल पुनः ओमानविरुद्ध नै जुन १४ मा हुनेछ भने चौथो खेल अमेरिकाविरुद्ध जुन १५ मा हुनेछ।

जेठ २७, २०७९ शुक्रबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।