७७ स्थानमाथिको जोर्डनसँग नेपाल २-० ले पराजित

७७ स्थानमाथिको जोर्डनसँग नेपाल २-० ले पराजित

काठमाडौंः एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत समूह 'ए' को पहिलो खेलमा नेपाल पराजित भएको छ। जोर्डनसँग २-० गोलअन्तरले नेपाल पराजित भएको हो।

खेलको पहिलो हाफमा नेपाल र जोर्डन गोलरहित बराबरीमा थिए। तर दोस्रो हाफको ६९ र ८२औं मिनेटमा अलि ओल्वन र हाम्जा अल दारदौरले गोल गर्दा नेपाल पराजित भयो।

कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमार्फत गोलकिपर दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु गरे। खेलको पहिलो हाफमा जोर्डनले पाएको पेनाल्टी डेब्यु गोलकिपर कार्कीले बचाएका थिए। सामाजिक सञ्जालमा यतिबेला कार्कीको चौतर्फी तारिफ भइरहेको छ।

फिफा वरियतामा नेपाल १६८औं स्थानमा छ। जोर्डन ९१औं स्थानमा छ। आफूभन्दा ७७ स्थानमाथिको टोलीलाई नेपालले २-० मा रोकेको हो।

नेपालले अब जेठ २८ मा कुवेत र ३१ मा इण्डोनेसियासँग खेल्नेछ। यता इण्डोनेसियाले कुवेतलाईय २-१ ले हराएको छ। नेपाल हाल अंकतालिकामा पुछारमा छ।

जेठ २६, २०७९ बिहीबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।