आफुविरुद्ध रिट बोकेर जाने एआइजी पोखरेलले मागेको बिदा दिएनन् सिंहले

काठमाडौँ : सरकारले प्रहरी महानिरीक्षकमा धिरज प्रताप सिंहलाई नियुक्त गरेसँगै बिदामा बसेका एआइजी विश्वराज पोखरेलले बिदा लम्ब्याउन पठाएको निवेदन अस्वीकृत भएको छ।
आइजिपीमा सिंहको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट बोकेर गएका पोखरेलले लिएको एक महिनाको बिदा सकिएपछि बुधवार सहयोगीमार्फत थप १० दिनको बिदाको निवेदन पठाएका थिए।
तर आइजिपी सिंहले उनको बिदा अस्वीकृत गरेका छन्। उनको बिदा अस्वीकृत भएकाले नियम अनुसार अब हालै भएको सरुवा अनुसार प्रदेश समन्वय विभागमा हाजिर गर्नुपर्ने छ।
बिहान सिंहलाई सरकारले आइजिपीमा नियुक्त गर्ने निर्णय गरेसँगै उनले तत्कालीन आइजिपी शैलेशकुमार क्षेत्रीबाट एक महिना बिदा स्वीकृत गराएका थिए। त्यसपछि उनी सरकारको निर्णय विरुद्ध वैशाखमा १९ मा सर्वोच्च अदालतमा रिट दायर गरे।
वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा आफू अघि रहेको भन्दै उनले सिंहलाई आइजिपीको रूपमा काम गर्न रोकेर आफूलाई निमित्त आइजिपीको रूपमा काम गर्न आदेश मागे पनि सिंहले दर्ज्यानी चिन्ह लगाएर काम सुरु गरिसकेको भन्दै आदेश आएन।
आदेश नआए पनि जेठ १७ बाट निरन्तर सुनुवाइ गर्न आदेश आए पनि जेठ १७ बसेको इजलासले सिंहको एआइजीमा भएको बढुवामै असन्तुष्टि जनाउँदै परेको रिटलाई समेत पोखरेलको रिटसँगै सुनुवाइ गर्न आदेश दियो। तर सो रिटको म्यादै तामेली नभएको खुलेपछि जेठ ३० को पेशी तोकेको छ।
२० साउनअघि अदालतबाट आदेश नआएमा पोखरेलको अवकाश हुने भएकाले अदालतले उनको अवकाश अगाडि नै रिट टुङ्ग्याउने तयारी गरेको देखिन्छ।
जेठ २५, २०७९ बुधबार २२:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।