निटासँगै विद्युतीय कारको बजारमा प्रवेश गर्‍यो सिजी मोटर्स 

निटासँगै विद्युतीय कारको बजारमा प्रवेश गर्‍यो सिजी मोटर्स 

काठमाडौँ : चौधरी समूह अन्तर्गतको सिजी मोटर्सले चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गरेको निटा ब्रान्डको कार बुधवार सार्वजनिक गरेको छ। सिजी मोटर्सले होजोन अटोले उत्पादन गरेको निटा भी कार नेपालमा ल्याएको हो। 

हाल उक्त कम्पनी निटा ब्रान्डमा क्रस ओभर विद्युतीय कार उत्पादन गर्दै आएको छ। होजोन अटो सन् २०१४ मा स्थापना भएको थियो। यो कम्पनीले अमेरिकाको सिलिकन भ्याली र क्यालिफोर्नियामा अटोनोमस भेहिकल रिसर्च सेन्टर स्थापना गरिसकेको छ। 

होजोनको मुख्य विशेषता उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज हो। यो कम्पनी  विद्युतीय कार उत्पादनकै लागि बनेको हो। कम्पनीले २०१८ मा निटा एओ १, २०२० मा निटा यु र निटा भी र २०२१ मा निटा यु प्रो र निटा भी प्रो सार्वजनिक गरेको थियो। 

सुरुमा नेपालमा निटा भी ल्याएको र क्रमैसँग नयाँ नयाँ मोडल ल्याउँदै जाने सिजी मोटर्सले जनाएको छ। सिजी मोटर्सले ल्याएको निटा भी कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने बताइएको छ। 

निटा भीमा सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग गरिएको छ। सीएटीएल विश्वको सबैभन्दा ठुलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी हो। चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले समेत सीएटीएलले उत्पादन गरेको ब्याट्री पनि प्रयोग गर्दै आएको छ।

यो कारमा प्रयोग भएको ब्याट्री फुल चार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डिसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेट मात्र लाग्ने छ। निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो।

जेठ २५, २०७९ बुधबार २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।