अस्कल क्याम्पसको छाप दुरुपयोग गर्ने अखिलका विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरेपछि कुटिए उपप्राध्यापक पाण्डे

काठमाडौँ : अमृत साइन्स क्याम्पस (अस्कल)का उपप्राध्यापक दिवाकर पाण्डे कुटिएका छन्। उनलाई एमालेको भातृसंगठन अनेरास्ववियु (अखिल) अस्कल इकाई कमिटीका सहसचिव पंकज पाण्डेले कुटेका हुन्।
अराजक विद्यार्थीको नेतृत्व गरेका अखिलका सहसचिव समेत रहेका पाण्डेको समूहले कक्षा सकेर टिचर रुममा जाने क्रममा केही बेर एकान्तमा कुरा गर्नु छ भनी उपप्राध्यापक पाण्डेलाई जेठ २२ गते कुटेका हुन्। अस्कल क्याम्पसका सहायक क्याम्पस प्रमुख रवीन्द्र महतका अनुसार उपप्राध्यापक पाण्डले आफूलाई विद्यार्थीले कुटेको भनी क्याम्पसमा र प्रहरी कार्यालयमा उजुरी दिएको बताए।
‘दिवाकर सरले आफू कुटिएको भनी क्याम्पस र प्रहरीमा जाहेरी दिनुभएको छ। उहाँले केही विद्यार्थीले कक्षा सकेर टिचर रुममा जाने क्रममा आफूलाई कुटेको विद्यार्थीले कुट्दा गोडामा र ढाडमा चोट लागेको भनी उल्लेख गर्नु भएको छ,’उनले भने, ‘उहाँ क्याम्पस भने आउनु भएको छैन मैले उहाँको निवेदन मात्रै देखेको हुँ।’
अस्कल क्याम्पसका अनेरास्ववियु इकाईका अध्यक्ष रुद्रहरी पोखरेलले घटना भएको स्वीकारे। ‘क्याम्पसमा घटना भएको हो के कस्तो भन्नेबारे अहिले मलाई पनि थाहा भएन,’उम्कने प्रयास गर्दै उनले भने, म व्यस्त छु केही बेरमा तपाईँलाई जानकारी दिलाउँछु।’
किन कुटिए पाण्डे?
क्याम्पस स्रोतका अनुसार क्याम्पस चिफ भाग लगाउने क्रममा अस्कल माओवादीको कोटामा परेको हो। अहिलेका क्याम्पस चिफ छन् लोक बराल अस्कल क्याम्पसका विद्यार्थी कल्याणकारी कोष तथा खेलकुद विभागका प्रमुख छन् भने उपप्राध्यापक दिवाकर पाण्डे छन्। उनी पनि माओवादी निकट रहेको स्रोतले बतायो।
अखिलका विद्यार्थीले क्याम्पसको छाप दुरुपयोग गरी विद्यार्थीसँग भर्ना गराइदिन्छु भनी शुल्क असुल गरेपछि क्याम्पस प्रमुख बरालले अखिलका दुई विद्यार्थी विरुद्ध सरकारी छाप दुरुपयोगमा मुद्दा दर्ता गरेका थिए।
मुद्दा फिर्ता लिन पटक पटक आग्रह गरे पनि क्याम्पसले मुद्दा फिर्ता लिएन। त्यसैको तारो बने दिवाकर पाण्डे। पढाएर फर्कने क्रममा मरणाशन्न हुने गरी कुटिएको एक प्रत्यक्ष दर्शी विद्यार्थीले बताए।
५१ दिन देखि बन्द क्याम्पस
अखिलले ५१ दिनदेखि अस्कल क्याम्पस बन्द गरेको छ। विभिन्न माग राखेर बन्द गरेका उनीहरूले ताला खोलिए काटाकाटको परिस्थिति आउने भन्दै धम्काएको एक उपप्राध्यापकले बताए। ‘अखिलले ५१ दिन देखि ताला लगाएको छ उनीहरूका अधिकांश माग पूरा पनि भएका छन्,’उनले भने, ‘तर पनि ताला खोलिए काटाकाटको स्थिति आउने भन्दै धम्काएका छन्। पढाइ त सबै बिगारे।’
अखिलकी केन्द्रीय अध्यक्ष सुनिता बराल भने सामान्य भन्दा सामान्य माग पनि पूरा नभएर तालाबन्दी गरेको दाबी गरिन। ‘विद्यार्थीको माग पूरा भएको भए त एकै छिन पनि ताला लाग्दैन।,’उनले भनिन्, ‘क्याम्पसमा तालाबन्दी गर्ने पक्षमा हामी छैनौँ। माग पूरा नभएर मात्रै हो।’
जेठ २५, २०७९ बुधबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।