असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक, खनेमा कारबाही

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक, खनेमा कारबाही

काठमाडौं : सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भएको हो।

बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागद्वारा जारी सूचनामा जनाइएको छ।

सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सार्वजनिक सूचना निकाल्दै कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। 

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ। त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने छैन’, सूचनामा उल्लेख छ, ‘कसैले जबर्जस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने छ।’ 

जेठ २५, २०७९ बुधबार ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।