विवेकशीलबाट काठमाडौँको क्षेत्र नम्बर ५ मा कर्मा उम्मेदवार हुने

विवेकशीलबाट काठमाडौँको क्षेत्र नम्बर ५ मा कर्मा उम्मेदवार हुने

काठमाडौँ : विवेकशील अभियानका संस्थापक उज्ज्वल थापा उम्मेदवार बन्दै आएका काठमाडौँको निर्वाचन क्षेत्र नम्बर पाँचबाट कर्मा तामाङ उम्मेदवार बन्ने भएकी छिन्।

नेपाल विवेकशील पार्टीको सङ्घीय समितिको बैठकले थापा उम्मेदवार बन्ने गरेको क्षेत्रबाट पार्टी अध्यक्ष कर्मा तामाङलाई सङ्घीय निर्वाचनमा काठमाडौँ - ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएको छ।

मिलन पाण्डे समूह दोस्रो पटक साझा पार्टीसँग एकता गर्न गएपछि थापा र तामाङ लगायतकाहरु भने एकीकरणमा सहभागी भएका थिएनन्। उनीहरू विवेकशील अभियानलाई अगाडि बढाउने गृहकार्य गर्दागर्दै स्वास्थ्य अवस्था बिग्रिएर थापाको निधन भएको थियो।

थापा क्षेत्र नम्बर ५ मा २ पटक संसद्को उम्मेदवार बनेका थिए। उनी पहिलो पटक कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए। दोस्रो पटक उनी एमाले नेता ईश्वर पोखरेलसँग पराजित भए।

थापाको निधनपछि तामाङको नेतृत्वमा नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो। तामाङ हाल बेलायतको युनिभर्सिटीबाट राजनीतिशास्त्रमा विद्यावारिधि गर्दैछिन्। उनले जर्मनीबाट कम्प्युटर विज्ञान तथा व्यवसायमा स्नातकोत्तर गरेकी छिन्।

उनी पहिला विवेकशील नेपाली दलको अन्तर्राष्ट्रिय संयोजक, बागमती प्रदेश संयोजक थिइन्। यस अगाडि विवेकशील अभियानमै जोडिएका पुकार बमले काठमाडौँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

'साझा पार्टीले वैकल्पिक राजनीति दूषित बनायो, अब विवेकशील नाम हटाए हुन्छ'

काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न रञ्जु दर्शनाले समेत तयारी गरेकी थिइन्। अब कर्मा उम्मेदवार बन्ने भएपछि उनी कुन क्षेत्रमा जाने हुन् या सोही क्षेत्रमा उम्मेदवार बन्ने एकिन भएको छैन।

काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेर १३ हजार मत पाएका सुमन सायमी काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्दैछन्।

जेठ २४, २०७९ मंगलबार २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।