काठमाडौँ महानगरको कार्यपालिका महिला सदस्यमा कांग्रेसको बहुमत

काठमाडौँ महानगरको कार्यपालिका महिला सदस्यमा कांग्रेसको बहुमत

काठमाडौँ : काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन्। सोमबार राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट नगरकार्यपालिकाको महिला सदस्य पदमा कांग्रेसका उमेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा एकीकृत समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भए। 

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार उनीहरुले उनीहरूले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका छन्। यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट कांग्रेसका बिनोद अछामीले ९८ र महेश नेपालीले ९७ तथा माओवादी केन्द्रका अनिता कार्की ढोलीले ९५ मत ल्याएर निर्वाचित भए। 

एमालेकातर्फबाट उम्मेदवार बनेका शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हीरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलको ५९ मत प्राप्त गरेका थिए।

सोमबार भएको मतदानमा महानगर प्रमुख, उपप्रमुख सहित १६० जनाले मतदान गरेका थिए। प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि उम्मेदवारी नपरेकाले मतदाताको संख्या १६० भएको हो। 

निर्वाचनपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ। जसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य छन्। कार्यपालिकामा कांग्रेसका ६ माओवादी र एकीकृत समाजवादीका १–१ जना सदस्य हुँदा एमाले शून्य भएको छ।

जेठ २४, २०७९ मंगलबार २१:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।