सिसडोलमा नास्टको विज्ञ टोलीले गर्यो प्रदूषणको अध्ययन

काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञ टोलीले सिस्डोलको अध्ययन गरेको छ। लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन डा.रविन्द्र ढकाल, डा.टिस्टा प्रसाइँ जोसी, डा.सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले गरेको हो। लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो।
सिस्डोलबाट संकलित तिन वटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको छ। स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ। यसबाट सो स्थानमा जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ। विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ।
पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ। नास्ट लगायत अन्य विज्ञहरूसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ।
आज नै अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने विधि निर्क्योल गरेको छ। यसका लागि प्रारम्भिक कामहरू ३ दिन भित्र नै सुरु गर्ने गरी तयारी भइरहेको छ।
जेठ २४, २०७९ मंगलबार २०:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।