इम्बोस्ड नम्बर अनिवार्य गर्ने उर्दीबाट पछि हट्यो सरकार 

इम्बोस्ड नम्बर अनिवार्य गर्ने उर्दीबाट पछि हट्यो सरकार 

काठमाडौँ : आगामी साउनदेखि एम्बोस्ड नम्बर अनिवार्य भनेर उर्दी जारी गरेको सरकार पछि हटेको छ। जेठ २० मा विज्ञप्ति मार्फत इबोस्ड नम्बर जडान नगरिए कारबाही गर्ने सूचना यातायात व्यवस्था विभागले निकालेको थियो। 

साउन १ पश्चात् ट्राफिक प्रहरीबाट गरिने सडक अनुगमनमा तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही समेत गरिने विभागले जनाएको थियो। 

व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ। विभागले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको पनि स्पष्ट पारेको छ। विभागले मंगलबार विज्ञप्ति जारी गर्दै १ साउनबाट सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको स्पष्ट पारेको हो। 

विभागले आफ्नो विज्ञप्ति माफी माग्दै तत्कालका लागि सबैलाई अनिवार्य गरिएको नभई पहिले नै बाध्यकारी बनाएको सरकारी निकाय लगायतलाई मात्रै अनुगमन गर्न खोजिएका स्पष्ट पारेको छ। २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनाबमोजिम ज–जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विभागले जनाएको छ।

‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीव्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन।’ इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ।

विभागले आगामी साउन १ गतेबाट अनिवार्य सबै सवारीमा इम्बोस्ड नम्बर राख्नुपर्ने भन्दै ताकेता गरेको थियो।

जेठ २४, २०७९ मंगलबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।