अब काठमाडौँ उपत्यकामा ४ आना कमको जग्गाको कित्ताकाट गर्न नपाइने

काठमाडौँ : घर-जग्गा कारोबारप्रति अनुदार देखिएको सरकारले काठमाडौँमा आवासीय क्षेत्रमा चार आनाभन्दा कम जग्गाको कित्ताकाट नहुने निर्णय कार्यान्वयनमा ल्याएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा भू उपयोग नियमावली, २०७९ सार्वजनिक गर्दै न्यूनतम १ सय ३० वर्ग मिटर (चार आना)भन्दा कम क्षेत्रफल हुने गरी काठमाडौँमा जग्गाको कित्ताकाटै गर्न नपाइने नियम कार्यान्वयनमा ल्याएको हो।
राजपत्रमा प्रकाशित सूचना अनुसार अब आवासीय क्षेत्रमा वर्गीकृत जग्गा ५ सय वर्ग मिटरभन्दा कम भए चौडाइभन्दा लम्बाइ चार गुण बढी हुने गरी कित्ताकाट गर्नुपर्ने उल्लेख गरेको छ। अब कृषि क्षेत्रका रूपमा वर्गीकृत जग्गालाई काठमाडौँ उपत्यकाको हकमा ५ सय वर्ग मिटरभन्दा कम हुने गरी अनि तराई तथा भित्री मधेसमा ६ सय ७५ वर्ग मिटरभन्दा कम क्षेत्रफल हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था कार्यान्वयनमा आएको छ। अन्य स्थानको हकमा एक हजार बर्गमिटर बनाइएको छ।
नियमावली अनुसार कुनै कित्ताको क्षेत्रफल अमिल्दो भएको अवस्थामा अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरेर प्लट मिलान गर्न भने पाइने उल्लेख छ। तर प्लट मिलान गर्दा सम्बन्धित कित्तामा नै गाभिने गरी गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ।
स्थानीय तहले कृषिको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण, सहकारी खेती, सामूहिक खेती तथा सार्वजनिक खेती गर्ने प्रयोजनका लागि सम्बन्धित जग्गाधनीको सहमतिमा साँध सिमाना जोडिएको जग्गाको एकीकरण गरी चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्न सक्ने नियमावलीमा उल्लेख छ।
जेठ २४, २०७९ मंगलबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।