रेशम चौधरीको रिहाइदेखि संविधान संशोधनसम्मका माग राखेर लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रेशम चौधरीको रिहाइदेखि संविधान संशोधनसम्मका माग राखेर लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विभिन्न ११ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। आज लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्त्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटर पुगेर देउवालाई ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो।

मागमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग छन्।

ज्ञापनपत्रमा मधेश/थरुहट आन्दोलनलगायत नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने, रेशम चौधरीलगायत बन्दीहरूको रिहाइ गरिनुपर्ने माग गरिएको छ। नेपालका उत्पीडित समुदाय मधेशी, थारु, आदिवासी जनजाति, शिल्पी (दलित), महिला, मुस्लिमलगायतका सम्मान, पहिचान र अधिकार प्राप्तिको लागि संविधान संशोधन गर्न पनि लोसपाले माग गरेको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मागप्रति आफू सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि पहल गर्ने बताए।

यस्तै तीन तहको सरकारद्वारा समानुपातिक बजेट वितरणको सिद्धान्त लागू गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागू गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुनिश्चित गरिनुपर्ने, कृषकलाई मलको व्यवस्था गर्नुका साथै बाढीपहिरोलगायत विपद् जोखिम नियन्त्रण र विस्थापितको बसोबासको व्यवस्था गरिनुपर्ने, भूमिहीन उत्पीडित समुदायलाई प्राथमिकतामा राखेर जग्गा उपलब्ध गराउन लोसपाले ध्यानाकर्षण गराएको छ।

जेठ २४, २०७९ मंगलबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।