मेयर बालेन्द्रको उद्घोष: कुहिने र नकुहिने फोहोर नछुट्याए संकलन नगर्ने, फर्काइदिने

मेयर बालेन्द्रको उद्घोष: कुहिने र नकुहिने फोहोर नछुट्याए संकलन नगर्ने, फर्काइदिने

काठमाडौंः काठमाडौं महानगरपालिकाले अब कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने भएको छ। महानगरका मेयर बालेन्द्र शाहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने बताएका हुन्।

अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ। जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन', उनले लेखेका छन्। 

यस्तै महानगरले अब कुहिने र नकुहिने फोहोर मिसाएर ल्याएमा सङ्कलन नगर्ने र फर्काइदिने पनि बालेनले बताएका छन्। उनले नछुट्टिएका फोहोर सङ्कलन नगर्ने कुरामा सम्झौता नगर्न पनि महानगरबासीलाई आग्रह गरेका छन्।

'हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईंले छुट्याइसकेको फोहोरलाई महानगरले पुन: एकैठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईंले छुट्याएर सङ्कलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन', उनले भने, 'यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले सङ्कलन गर्ने छैन र फर्काइदिने छ। यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर सङ्कलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।'

मेयर बालेन्द्रले यो सूचना सक्दो छिटो फैलाउन पनि अनुरोध गरेका छन्।

यस्तै उनले हालसम्म फोहोर थुप्रिएर महानगरबासीले पाएको दुःखका लागि पनि क्षमायाचना गरेका छन्। 'तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन। अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ। हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन', उनले भने।

जेठ २४, २०७९ मंगलबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।