जनप्रतिनिधिले सञ्चालन गरेको योजनामा अनियमितता भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन

जनप्रतिनिधिले सञ्चालन गरेको योजनामा अनियमितता भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन

खोटाङः जनप्रतिनिधिले सञ्चालन गरेको विकासे योजनामै अनियमितता भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ।दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको भन्दै स्थानीयले दिएको उजुरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको हो।

सोमबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकमा विसं २०७४ मा निर्वाचित जनप्रतिनिधिले अनियमितता गरेको जनगुनासो तथा उजुरी परेपछि हालका नगर उपप्रमुख विशन राईको सञ्योजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इञ्जिनियर), युवराज श्रेष्ठ (चार्टर्ड एकाउन्टेण्ट), कृष्ण बुढाथोकी र सदस्यसचिवमा शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मालाई राखिएको छ।

०७४ सालमा एमालेका दीपनारायण रिजाल नगर प्रमुखमा र विणादेवी राई उपप्रमुखमा निर्वाचित भएका थिए। यस पटक कांग्रेसका तीर्थराई भट्टराई नगर प्रमुखमा र माओवादी केन्द्रका विशन राई उपप्रमुखमा विजयी भएका छन्।

जेठ २४, २०७९ मंगलबार ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।