कपडामा जलप लगाएर सुन तस्करी, विमानस्थलबाट ७ जना पक्राउ

काठमाडौँ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ परेका छन्। दुबईबाट नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को जहाजबाट नेपाल आएकाचिनियाँ र एक भारतीय नागरिकसहित ७ जनालाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौँका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल, २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुत रहेका छन्।
सुरेश र सन्दीपले आफूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरका विभिन्न भागमा सुनको जलप लगाएर ल्याएको भेटिएको छ। उनीहरुसँग सोधपुछका आधारमा थप अन्य व्यक्तिसमेत पक्राउ परेका प्रहरीले जनाएको छ। सुरेशको साथबाट प्रहरीले ५७२.१६० ग्राम र सन्दीपको साथबाट ३१६.८१ ग्राम सुन बरामद गरेको छ। पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २३, २०७९ सोमबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।