अद्भुत मेस्सी: अर्जेन्टिनाले इस्टोनियालाई ५-० ले हराउँदा पाँचै गोल मेस्सीको

अद्भुत मेस्सी: अर्जेन्टिनाले इस्टोनियालाई ५-० ले हराउँदा पाँचै गोल मेस्सीको

काठमाडौंः अर्जेन्टिना र इस्टोनियाबीच गए राति भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिना विजयी भएको छ। इस्टोनियालाई ५-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो।

योसहित अर्जेन्टिना ३३ खेलयता अपराजित छ। अर्जेन्टिनाको अन्तिम हार सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनल हो। ब्राजिलले त्यसबेला अर्जेन्टिनालाई २-० ले हराएको थियो।

यस्तै इस्टोनियाविरुद्धको खेलमा भएको पाँचै गोल मेस्सीको हो। मेस्सीले खेलको ८, ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल गरेका थिए। मैत्रीपूर्ण खेल त्यसमाथि पनि अर्जेन्टिनाभन्दा कमजोर टिमविरुद्ध विश्वकै सर्वश्रेष्ठ खेलाडीको पाँच गोलको अर्थ त्यति नरहन सक्छ। तर जसरी गोल गरे, जस्तो कला प्रदर्शन भयो त्यसले भने मेस्सीलाई अद्भुत बनाउँछ।

पहिलो गोल पेनाल्टीमार्फत प्रहार गरेका मेस्सीले दोस्रो गोल बायाँ खुट्टाले डी- बक्सको दाहिनेपट्टीबाट प्रहार गरे। तेस्रो गोल पनि बायाँ खुट्टाले नै सेन्टर बक्सबाट प्रहार गरे।

चौथो गोल दायाँ खुट्टाले सेन्टर बक्सबाट प्रहार गरे। पाँचौँ गोल बायाँ खुट्टाले सेन्टर बक्सबाटै प्रहार गरे।

योसहित मेस्सीको अन्तर्राष्ट्रिय गोल सङ्ख्या पनि ८६ पुगेको छ। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा छन्। र ३० वटा देशविरुद्ध मेस्सीले गोल गरेका छन्।

मेस्सीले दोस्रो पटक एकै खेलमा पाँच गोल गरेका हुन्। यसअघि च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर लेभरकुसेनलाई सन् २०१२ मा ७-१ ले हराउँदा मेस्सीले पाँच गोल गरेका थिए।  

इस्टोनिया त्यति बलियो टिम भने होइन। फिफा वरियतामा ११०औं स्थानमा रहेको इस्टोनियालाई अर्जेन्टिनाले हराउनु त्यति गर्वीलो कुरा पनि होइन। अब शनिबार अर्जेन्टिनाले ब्राजिलको सामना गर्दैछ। यो नै अर्जेन्टिनाको असली परीक्षा हुनेछ।

जेठ २३, २०७९ सोमबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।