धनबहादुर बुढालाई मन्त्री बनाउन एकीकृत समाजवादीमा दबाब

धनबहादुर बुढालाई मन्त्री बनाउन एकीकृत समाजवादीमा दबाब

काठमाडौँ : एकीकृत समाजवादीले ४ मन्त्रीलाई  फिर्ता बोलाएको छ। उनीहरूलाई नियुक्ति समयमा नै ६ महिनाको लागि भनेर जिम्मेवारी दिइएको थियो। पार्टीका अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया रहेको बताएका छन्। 

पाँच जनाको जिम्मेवारी हेरफेर गर्ने सूची बुझाएपछि केन्द्रीय कार्यालयबाट बाहिरिँदै सुरुमै ६ महिनाका लागि भनेर मन्त्रीहरूलाई जिम्मेवारी दिइएको बताए। उनले भने, ‘यो नियमित प्रक्रिया हो। सुरुदेखि नै ६ महिना भनेर उहाँहरूलाई जिम्मेवारी दिइएको हो।’

फिर्ता हुनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री,  पर्यटन, संस्कृत तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, श्रममन्त्री किसान श्रेष्ठ रहेका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी श्रम तथा रोजगारमन्त्रीमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय भएको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ। स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ। 

मन्त्रीको सिफारिस भइसके पनि नेता धनबहादुर बुढालाई मन्त्री बनाउन दबाब आएको छ। ‘उहाँहरूलाई नियुक्ति सिफारिस गर्दा नै ६ महिनाका लागि भनिएको थियो त्यही कार्यान्वयन भएको हो, एक सचिवालय सदस्यले उकेरासँग भने।

मन्त्रीको सूचीमा धनबहादुर बुढाको नाम सिफारिस गर्न पनि दबाब छ। ‘प्रेसर आए अनुसार अब मन्त्रीको सिफारिसमा धनबहादुर बुढा हुनेछन्, ती सचिवालय सदस्यले भने, ‘हेरौँ प्रेसर अनुसार भयो भने धनबहादुरजी मन्त्री हुनुहुन्छ अन्यथा सिफारिस भनिएका नाम नै फाइनल हुन्छ।’ शीर्ष नेताहरूले चर्चाकै नामहरू फाइनल गर्नुहुन्छ। बुढा मन्त्री बन्ने भएमा को रिङ आउट हुन्छन् भन्ने कुरा ती सदस्यले खुलाएनन्।

बुढा डोल्पा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद् हुन्। 

जेठ २२, २०७९ आइतबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।