समाजवादीले मन्त्री हेरफेर गर्ने, नयाँ बन्ने मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझायो

काठमाडौँ : एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने निर्णय गरेको छ। एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।
सचिवालय बैठकको निर्णयसँगै समाजवादीले मन्त्रिपरिषद् हेरफेरका लागि नयाँ बन्ने मन्त्रीको लिस्ट बनाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिने निर्णय गरेको थियो। नेपालले बनाएको नयाँ मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ।
नयाँ बन्ने मन्त्रीमा सहरी विकासमा मेटमणि चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम उल्लेख गरिएको छ।
पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन्। पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा लगायतका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेका हुन्।
जेठ २२, २०७९ आइतबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।