विश्व वातावरण दिवस : वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ५० प्रतिशत बढी, ७५ प्रतिशत जमिन पतन

विश्व वातावरण दिवस : वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ५० प्रतिशत बढी, ७५ प्रतिशत जमिन पतन

काठमाडौं : जोखिममा रहेको पर्यावरण जोगाउन, खराब वातावरणीय अवस्था सुधार्न, वातावरणसँग सम्बन्धित मुद्दाबारे सकारात्मक कदम चाल्नका निम्ति संसारभर सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष विश्व वातावरण दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम (युएनइपी)को संयोजकत्वमा हरेक वर्ष जुन महिनाको ५ तारिकमा मनाइने विश्व वातावरण दिवस आज पनि संसारभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।

‘वान्ली वान अर्थ’ अर्थात् ‘एउटै पृथ्वीः पृथ्वीको रक्षा सबैको प्राथमिकता’ मुल नारा दिएको यस वर्षको विश्व वातावरण स्विडेनले होस्ट गरेको छ। तर वातावरण जोगाउन संसारभर जति नै ठूला कार्यक्रम आयोजना गरिए पनि, जति नै उत्सव मनाए पनि पृथ्वी र पृथ्वीले भोगिरहेको पीडाको मात्रा भने वर्षेनी उकालो लागिरहेको छ। 

वायुमण्डलमा ग्यासको मात्रा वृद्धि
जलवायु परिवर्तनका कारण विश्वको पर्यावरणमा परेको असरबारे वर्षौं लगाएर वर्षेनी सार्वजनिक हुने रिपोर्टहरुले डरलाग्दो तथ्य निकाल्ने गरेका छन्। गएको शुक्रबार संयुक्त राष्ट्रसंघीय एजेन्सी नेसनल ओसियनिक एण्ड एटमोसफेरिक एड्मिनिस्ट्रेसन (एनओएए)ले कार्बनडाइअक्साइडबारे एक अध्ययन सार्वजनिक गरेको थियो। 

अध्ययनका अनुसार गएको मे महिनामा पृथ्वीको वायुमण्डलमा औद्योगिक युगभन्दा अघिको तुलनामा ५० प्रतिशत बढी कार्बनडाइअक्साइड (सिओटु) देखा परेको छ जुन पृथ्वीको वायुमण्डलमा ४ मिलियन वर्षसम्म नदेखिएको कार्बनडाइअक्साइडको मात्रा हो।

कार्बनडाइअक्साइड मात्र नभई वायुमण्डलमा अन्य ग्यासको मात्रा पनि बढेको र यसले वायु प्रदुषण वर्षेनी बढ्दै गएको समेत सो रिपोर्टले उल्लेख गरेको छ। 

‘वायुमण्डलमा देखा परेको कार्बनडाइअक्साइडले मे महिनामा ४२० पिपिएम पार गरेको छ। यो मात्रा वर्षेनी बढ्दो दरमा रहेको देखिन्छ,’ एनओआका ग्लोबल ल्याब्रोटरी वैज्ञानिक पिटर टान्सले भनेका छन्, ‘उसो त वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढिरहेकोबारे आशा शताब्दीदेखि सुन्दै आएको हाम्रो लागि यो नौलो विषय होइन । यद्यपि, पृथ्वीका प्राणीले हालसम्म अनुभव नगरेको कार्बनडाइक्साइडको असर भोगीरहेका छन्। त्यसैले यो गम्भीर विषय हो। पृथ्वी र पृथ्वीको वायुमण्डल जोगाउन विश्वले गरेका प्रतिबद्धतामा असफल बन्दै जानु यो गम्भीर समस्या हो।’ 

पिपिएम वायुमण्डलको वायु गुणस्तर मापन गर्ने एक एकाइ हो। गत वर्षको मे महिनामा सो वायुमण्डलमा कार्बनडाइअक्साइडको दर ४१९ पिपिएम थियो भने सन् २०२० मा सो दर ४१७ पिपिएम थियो। औद्योगिक युगअघि सो दर झन्डै २८० पिपिएम कायम रहेको थियो। 

७५ प्रतिशत जमिन क्षय
पृथ्वीमा रहेको जमिनको कुल क्षेत्रमध्ये ७५ प्रतिशत जमिन क्षय (सधैंका लागि काम नलाग्ने अर्थात् पतन) भएको र संसारका ३.४ बिलियन मानिसले त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर भोगिरहेको अर्को एक अध्ययनले देखाएको छ। 

न्यासनल जियोग्राफिकमा प्रकाशित इन्टरगभर्मेन्टल साइन्स पोलिसी प्लेटफर्म अन बायोडाइभर्सिटी एण्ड इकोसिस्टम सर्भिसेस (आइपिबिइएस)को अध्ययनले सो तथ्य देखाएको हो। जसको मुख्य कारण मरुभूमीकरण, प्रदूषित, वन विनाश र बाँझो जमिनमा परिणत हुनु सो अध्ययनमा उल्लेख छ। 

यदि सो क्रम निरन्तर रहने हो भने सन् २०५० सम्ममा काम नलाग्ने जमिनको क्षेत्र बढेर ९५ प्रतिशत पुग्ने र करोडौं मानिस बसाइँ सर्न बाध्य हुनुपर्ने, खाद्य संकट निम्तिने र जैविक विविधता ह्रास आउने चेतावनीसमेत सो अध्ययन रिपोर्टले दिएको छ। 

आइपिबिइएस अन्तर्गत जमिन क्षय सम्बन्धमा विभिन्न मुलुकमा १ सय भन्दा बढी विज्ञहरुले ४५ मुलुकमा तीन वर्ष बढी समय लगाएर सो अध्ययन गरेका थिए।  

‘जमिन क्षय, जैविक विधितामा ह्रास र जलवायु परिवर्तनले निम्तिएको संकट हामीले भोगिरहेको मुख्य समस्या हो। जसले मानव र पर्यावरणीय स्वास्थ्यमा गम्भीर असर निम्त्याइरहेको छ,’ आइपिबिइएस प्रमुख सर रोबर्ट वाटसनले भनेका छन्, ‘जनिम क्षय र यसबाट निम्तिने असर संसारका विभिन्न मुलुकमा पनि देखा परिसकेको छ।’

सो रिपोर्टका अनुसार जमिन नासिँदाको मुख्य असर सिमसार क्षेत्रमा देखा परेको छ। सन् १९०० यता मात्र संसारभर ५४ प्रतिशत सिमसार क्षेत्र लोप भइसकेका छन् भने विगत ३ सय वर्षयता संसारभर ८७ प्रतिशत सिमसार क्षेत्र लोप भइसकेका छन्। यो क्रम दक्षिणपूर्वी एसिया, अफ्रिकाको कंगो क्षेत्रमा यो क्रम निरन्तर रुपमा बढिरहेको छ। 

(एजेन्सीको सहयोगमा)

जेठ २२, २०७९ आइतबार १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।