रुपन्देही बस दुर्घटना अपडेटः मृतकमध्ये चार जनाको पहिचान खुल्यो, १६ जनाको अवस्था गम्भीर

बुटवलः यात्रुबाहक रात्रि बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ। मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास छन्।
यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुबाहक बस आज बिहान ४ः२० मा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानामा रहेको पुलबाट रोहिणी नदीमा खसेको थियो। बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।
दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए।
घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ। आठ जनाको अवस्था भने मध्यम रहेको उनले बताए। दुर्घटना के–कति कारणले भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २२, २०७९ आइतबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।