छात्रामाथि यौन दुर्व्यवहार आरोपमा काठमाडौँमा अर्का एक शिक्षक पक्राउ

काठमाडौँ : छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि भागेर रामेछाप पुगेका जोरपाटीस्थित सर्वनाम शिक्षालयका शिक्षक रामजी बस्नेत पक्राउ परेका छन्।
यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा जानकारी गराए लगत्तै भागेका उनी विरुद्ध प्रहरी वृत्त बौद्धमा जाहरी परेपछि उनी पक्राउ परेका हुन्।
शिक्षालयमा निमावि तहका शिक्षक रहेका उनी होस्टेल वार्डेन समेत थिए। तीन विद्यार्थीको जाहेरीपछि उनी रामेछापमा पक्राउ परेका हुन्।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा पक्राउ गरिएको हो।
विद्यार्थीको जाहेरीपछि प्रारम्भमा जानकारी पाएर पनि प्रहरीमा खबर नगरेकोभन्दै प्रहरीले विद्यालयका प्रधानाध्यापक दुर्गानाथ सिवाकोटीलाई नियन्त्रणमा लिएको थियो। घटनाको सम्बन्धमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
यस अगाडि चाबहिलको सेन्ट लरेन्स कलेजका तीन छात्राको जाहेरीमा २ शिक्षक पक्राउ परेका थिए। उनीहरूले शिक्षकको व्यवहारबारे कलेजमा जानकारी गराउँदा घटना गुपचुप बनाउने प्रयास भएपछि आन्दोलनै गर्नुपरेको थियो। शिक्षक पक्राउपछि कलेज प्रशासनले कारबाही गरेको झुटो विज्ञप्ति निकालेको थियो।
जेठ २१, २०७९ शनिबार २२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।