रुस-युक्रेन युद्ध: १ करोड ४० लाख युक्रेनी घर छोडेर भागे

रुस-युक्रेन युद्ध: १ करोड ४० लाख युक्रेनी घर छोडेर भागे

एजेन्सी : संयुक्त राष्ट्रसंघले रुस(युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ। सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आँकडा सार्वजनिक गरेको हो। 

युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्। द्वन्द्वले १ करोड  ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको  समेत अभावमा छन्।

गत फेब्रुअरी २४ मा द्वन्द्व शुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका सहरहरू सहित युक्रेनभरि लगभग ८ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको  संयुक्त राष्ट्रका अधिकारीले  बताएका छन्। संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सङ्कट जाडो याममा अझ चर्किने चेतावनी दिएको छ।

जेठ २१, २०७९ शनिबार १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।