मनाङको नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

मनाङः नासोँ गाउँपालिकाले अतिविपन्न र दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरूपमा स्वास्थ्यको पहुँचमा पुर्याउन यस्तो निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलितलाई उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले पालिका क्षेत्रको सडक तत्काल मर्मत गर्ने निर्णय पनि गरेको छ। बैठकले वडालाई बालमैत्री वडा बनाउने गरी स्थानीय शासन सम्बन्धी कार्य अघि बढाउने, निरपेक्ष गरिबीको रेखामुनि रहेका घरपरिवारको विवरण तयार गर्ने, कार्यालयको सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाउन बैठकको निर्णय तत्कालै वडा कार्यालयमा पठाउने र वेबसाइटमा राख्ने निर्णय गरेको छ।
यस्तै नासोँ गाउँपालिका–१ तालगाउँस्थित मर्स्याङ्दी नदीको बाढीबाट पुगेको क्षतिलाई मध्यनजर गर्दै तटबन्ध बनाउने कामलाई प्राथमिकतामा राखिएको र निर्माणको काम भइरहेको गुरुङले बताए।
जेठ २१, २०७९ शनिबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।