बालेन र हर्कको जीतले हौसिएका युवाहरू संसदीय निर्वाचनको तयारीमा, स्वतन्त्र या नयाँ दल छलफलमै

बालेन र हर्कको जीतले हौसिएका युवाहरू संसदीय निर्वाचनको तयारीमा, स्वतन्त्र या नयाँ दल छलफलमै

काठमाडौँ : गत प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहलाई कडा टक्कर दिएका थिए विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले। उनी झिनो मतान्तरले पराजित भए सिंहसँग। यो पाँच वर्षको बिचमा उनले आफ्नो प्रभाव बढाउनुको साटो आफ्नो विवादित राजनीतिक प्रतिवेदनका कारण दल मात्रै विभाजित भएन स्थानीय तहको निर्वाचनमा रणनीति अनुसार सामान्य उपलब्धि पनि नआएपछि उनी पार्टीको नेतृत्वबाटै अलग्गिए।

अबको सङ्घीय निर्वाचनमा त्यही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारको रूपमा अगाडि आएका छन् विवेकशीलका नेता पुकार बम। उनले शुक्रवार आगामी सङ्घीय निर्वाचनमा काठमाडौँको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

यस अगाडि नै विवेकशील साझाकी पूर्व नेतृ रञ्जु दर्शनाले स्थानीय तहको राजनीति छाडेर अब केन्द्रीय राजनीतिमा सहभागी हुने घोषणा गरिसकेकी छिन्। विवेकशील नेपाली दलबाट राजनीतिक पहिचान बनाएकी उनी विवेकशीलका संस्थापक नेता उज्ज्वल थापा उम्मेदवार बन्ने गरेको काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा देखिएकी छिन्।

उनी स्वतन्त्र उम्मेदवार बन्छिन् या विवेकशील समूहले गठन गरेको नेपाल विवेकशील पार्टीबाट भन्ने खुलिसकेको छैन। गत निर्वाचनमा मिलन पाण्डे काठमाडौँ निर्वाचन क्षेत्र ९ बाट उम्मेदवार बनेका थिए। विवेकशील साझाबाट बाहिरिएका उनी उम्मेदवार बन्ने तयारीमा रहे पनि स्वतन्त्र उम्मेदवार बन्छन् या कुनै दलबाट खुलेको छैन।

जानकारस्रोतका अनुसार काठमाडौँ महानगरपालिका र धरानमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र हर्क साम्पाङको जीतसँगै बमदेखि पाण्डेसम्म उत्साहित देखिएका छन्। शाहको क्याम्पेनमा विवेकशील अभियानमा संलग्न केही युवा नेताहरू समेत संलग्न रहे पनि बम, दर्शना अनि पाण्डेहरू भने प्रत्यक्ष सहभागी देखिएका थिएनन्।

उनीहरू शाहसँग संसदीय निर्वाचनमा सहकार्यका लागि इच्छुक देखिए पनि निष्कर्षमा पुग्ने गरी भने छलफल सुरु भइसकेको छैन। उता महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर १३ हजार भोट ल्याएका सुमन सायमी पनि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा देखिएका छन्।

उनी काठमाडौँ क्षेत्र नम्बर ८ मा उम्मेदवार बन्ने तयारीमा रहे पनि स्वतन्त्र या दलबाट भन्ने खुलेको छैन। दल दर्ता गर्ने हो या स्वतन्त्र नै उम्मेदवार बन्ने हो भन्ने उकेराकर्मीको जिज्ञासामा उनले आफ्नो क्षेत्रका मतदाताहरूसँग परामर्शपछि आउने सुझाव अनुसार निर्णय गर्ने बताएका थिए।

उता वैकल्पिक राजनीतिको नेतृत्व गर्ने दाबी गरेको विवेकशील साझाको अध्यक्षबाट मिश्रले राजीनामा दिएपछि सो दलका नेताहरू झोक्राएको देखियो। आगामी संसदीय निर्वाचनमा सो दलको रणनीति र भूमिका के हुने निश्चित भएको छैन।

पाण्डे समूहले निर्वाचन आयोगमा साझा पार्टी दर्ता गराएसँगै वैकल्पिक युवा मोर्चाको नाममा समेत अभियान अगाडि बढाएका थिए। उनीहरू कुन ब्यानरमा जान सक्छन् एकिन भएको देखिएन। दोस्रो पटक साझासँगको एकीकरणमा सहभागी नभएका विवेकशील समूहले नेपाल विवेकशील पार्टी दर्ता गरेर स्थानीय तह निर्वाचनमा समेत सहभागी भए। संसदीय निर्वाचनमा उनीहरूको रणनीति के हुने सो अझै प्रस्ट हुन सकेको छैन। विवेकशीलका एक नेता प्रदेश र सङ्घको निर्वाचनमा आवश्यकता अनुसार स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने र आफ्नै पार्टीबाट समेत उम्मेदवार बनाउने दुवै तयारी भइरहेको छ।

साझामा गएर निष्कासनमा परेका विवेकशीलका पूर्व नेता र स्वतन्त्र उम्मेदवार बन्न सक्ने उम्मेदवारहरूसँगको सहकार्यबारे ठोस निर्णय नभइसकेको ती नेताले बताए।

जेठ २०, २०७९ शुक्रबार २२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।