भारतीय गायक मुसेवालाको हत्यामा संलग्न खोज्न दिल्ली प्रहरीको विशेष टोली काठमाडौँमा

काठमाडौँ : भारतको पन्जाब सरकारले विशेष सुरक्षा हटाएको भोलिपल्ट गोली प्रहार गरेर हत्या गरिएका पन्जाबका चर्चित गायक सिध्दु मुसेवालाको हत्यारा खोज्न भारतको दिल्लीको स्पेसल टिम काठमाडौँ आएको छ।
उनी आफ्नै जिपमा भएको बेलामा ३० भन्दा बढी गोली प्रहार गरेर उनको हत्या गरिएको थियो। भारतीय प्रहरीले यसलाई ग्याङवारको रूपमा हेरिरहेको इन्डिया टुडेमा उल्लेख छ।
इन्डिया टुडेले मुसेवालाको हत्यामा संलग्न नेपालमा रहेको सूचनाको आधारमा दिल्ली प्रहरीको विशेष टोलीको सदस्यहरू शुक्रवार नेपाल आएको दाबी गरेको थियो।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीलेले भारतीय टोली नेपालमा आएकोबारे औपचारिक रूपमा जानकारी नभएको बताए।
तर यसबारे उकेराले केही सुरक्षा अधिकारीसँग सम्पर्क गर्दा दिल्ली प्रहरीको विशेष सेलका केही अधिकारीहरू काठमाडौँमा आएको पुष्टि भयो।
'शुक्रवार दिल्ली प्रहरीको केही अधिकारीहरू काठमाडौँ आएका छन्। घटनामा संलग्न व्यक्ति काठमाडौँमा लोकेट भएकाले उनीहरू सहयोगका लागि आएका हुन्' विश्वस्त स्रोतले उकेरालाई भन्यो।
आफ्नो गाडिमा हिँडिरहेका मुसेवालालाई पछ्याउँदै गएको एक कारमा सवारहरूले उनलाई अन्धाधुन्ध गोली हानेर घाइते बनाएपछि उपचारका लागि अस्पताल पुर्याउँदा मुसेवाला मारिएका थिए।
भारतीय प्रहरीले गायक मुसेवालाको हत्याको आरोपमा मनप्रित सिंहलाई पक्राउ गरेको इन्डिया टुडेको समाचारमा उल्लेख छ। उनी पन्जाबको ड्रग डिलरको रूपमा परिचित छन्। हत्यामा उनको नाममा रहेको गाडी प्रयोग भएको थियो।
क्यानडामा रहेको पन्जाबी ग्याङस्टर गोल्डी ब्रारको समूहले मुसेवालाको हत्याको जिम्मा लिँदै फेसबुकमा लेखेका थिए। गोल्डीसँगको सम्बन्धका कारण प्रहरीले लरेन्स विस्नोइलाई समेत नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ।
जेठ २०, २०७९ शुक्रबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।