जनकपुरमा सरसफाइको जिम्मा वडा-वडालाई

जनकपुरमा सरसफाइको जिम्मा वडा-वडालाई

धनुषाः मधेश प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकाले नगरको सरसफाइको जिम्मा वडा–वडालाई हस्तान्तरण गर्ने तयारी गरेको छ। विगतमा उपमहानगरपालिका कार्यालयबाट मात्र नगरको सरसफाइ हुँदै आएकोमा अब नगरको मुख्य सडक उपमहानगरपालिकाबाट र सहायक गल्लीहरू सम्बन्धित वडा कार्यालयबाट सरसफाइ गर्ने गरी जिम्मेवारी हस्तान्तरण गर्न लागिएको हो।

नवनिर्वाचित मेयर मनोजकुमार साहले पदभार ग्रहण गरेकै दिन सरसफाइको जिम्मा वडा–वडामा विकेन्द्रिकृत गर्ने निर्णय गरेका थिए। त्यही निर्णयलाई कार्यान्वयन गर्न उपमहानगरपालिकाले २५ वटै वडालाई सरसफाइका लागि आवश्यक बजेट, जनशक्ति र सवारीसाधन हस्तान्तरण गर्ने तयारी छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले चार वटा टिपरलाई नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने बताए। “थप ६ ट्र्याक्टर खरिद प्रक्रियामा छ, त्यसलाई पनि फोहरमैला व्यवस्थापनमा प्रयोग गर्छाैँ”, उनले भने।

यस्तै अस्थायीरूपमा वडा नं २० मा जग्गा भाडामा लिएर फोहरमैला व्यवस्थापन हुँदै आएको र स्थायी समाधानका लागि पहल भइरहेको उनले बताए। 

जनकपुरमा केही वर्षअघिसम्म दैनिक सात मेट्रिक टनसम्म फोहर सङ्कलन हुने गरेकामा पछिल्लो समय दैनिक १० मेट्रिक टनसम्म सङ्कलन हुने गरेको छ।

जेठ २०, २०७९ शुक्रबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।