एउटा इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव: वायुसेवा सञ्चालक संघ

काठमाडौंः एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव हुने नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट राख्नुपर्ने नियम ल्याउन लागेको बेला त्यो निर्णय कार्यान्वयन गर्न असम्भव रहने संघले जनाएको हो।
व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने संघको धारणा रहेको छ। हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ।
दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए। नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ।
हाल नेपालमा सञ्चालनमा रहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन्।
१० विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएका छन्।
जेठ २०, २०७९ शुक्रबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।