ओली भन्छन्, ‘अहिले पनि एमाले नै पहिलो पार्टी हो, मतदाताको सुरक्षा गर्न चुनौती छ’

काठमाडौँ : एमालेका अध्यक्ष केपीशर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीको कमजोर नतिजा आउनुमा जनतालाई दोष दिन नहुने बताएका छन्। पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधनका क्रममा उनले विभिन्न चार कारणले एमालेको जनमत केही घटेको तर्क गरे। ‘जनतालाई हामीले भन्ने ठाउँ छैन,’ ओलीले बैठकमा बोल्दै पहिलो कारणबारे भने, ‘हामीले नै कतिपय ठाउँमा नेताहरू व्यवस्थित रुपमा परिचालन गर्न सकेनौँ।’
हारको अर्को कारण टिकट वितरण भएको ओलीको भनाइ छ। ‘कतिपय ठाउँमा हामीले नेता कार्यकर्तालाई राम्रोसँग जिम्मेवारी दिन सकेनौँ’, उनले भने, ’त्यसले गर्दा पनि कतिपय ठाउँमा हामीलाई क्षति भएको छ।’ एमाले बलियो भएको ठाउँमा अन्तर्घातको कारणले हारेको एमालेको निष्कर्ष छ। ‘कतिपय ठाउँमा हाम्रा साथीहरूकै अन्तर्घातले गर्दा हामी हार्यौँ,’ उनले भने, ’तर त्यति गर्दा पनि अपेक्षित परिणाम नै आएको छ, ओलीले भने।
‘अहिले पनि एमाले नै पहिलो पार्टी हो। अब आगामी चुनावको तयारीमा आजैदेखि लागौँ,’उनले भने, ‘माथिदेखि तलैसम्म हामी निर्वाचनको तयारी गरौँ। सबै जना सक्रियतापूर्वक लाग्नु आवश्यक छ। मतदाताको सुरक्षा गर्ने चुनौती छ।’ ओलीले अहिले आएको ३८ लाख मत जोगाउन सकेमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा आउन सक्ने बताए।
जेठ १९, २०७९ बिहीबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।