भ्रष्टाचार र महँगीविरुद्ध राप्रपाले आन्दोलन गर्ने, १३ सदस्यीय आन्दोलन परिचालन समिति गठन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्ण समानुपातिक संसद्, जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा हुने लगायतको निर्णय गरेको छ।
बुधबार र बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा काभ्रेको धुलिखेलमा बसेको बैठकले विभिन्न २० निर्णयहरू गरेको हो। बैठकले भर्खरै सम्पन्न स्थानीय तहको समीक्षा गर्दै विजयी हुने, उम्मेदवार बन्ने र मतदान गर्ने र सक्रियतापूर्वक परिचालित सबैलाई धन्यवाददेखि केन्द्रीय कमिटी बैठक बोलाउनेसम्मका निर्णयहरू गरेको छ।
७ असारदेखि तीन दिन चल्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ भने केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयअनुसार कार्य योजना निर्माण गरी अध्यक्षबाट स्वीकृत गराई कार्यान्वयन गर्न सचिवालयलाई जिम्मेवारी दिनेछ।
साथै बैठकले भ्रष्टाचार, महँगी, मल खादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने र आन्दोलन परिचालनका लागि बुद्धिमान तामाङको संयोजकमा समिति गठन गरिएको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार समिति सदस्यमा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाहीसहित प्रदेश प्रमुखहरू रहनेछन्।
जेठ १९, २०७९ बिहीबार १९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।