निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान मेरो प्राथमिकतामा छः आईजीपी सिंह

काठमाडौँ : प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान गर्ने बताएका छ्न्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले आफ्नो कार्यकालमा निर्मला हत्या घटनाको अनुसन्धान प्राथमिकतामा रहेको बताए।
'मेरो कार्यकालमा निर्मला पन्तको फाइल खोलिएको छ।' उनले भने, 'अनुसन्धान मेरो प्राथमिकता परेको छ।'
निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा पनि दोषी पत्ता लागेका छैनन्। २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।
सो घटनाको पटक-पटक अनुसन्धान भए पनि आरोपी पक्राउ परेका छैनन्। सिंह अगाडिका प्रहरी महानिरिक्षकले पनि पन्त घटना आफ्नो प्राथमिकतामा रहेको बताएका थिए। तर अनुसन्धान निचोडमा नपुर्याई अवकाशमा गए।
पत्रकारले सामाजिक संजालबाट हुने मानसिक हिंसालाई किन साइबर ब्युरोले दर्ता नगरेको भन्ने प्रश्नमा उनले साइबर ब्युरोलाई जुनसुकै आरोप दर्ता गर्न प्रहरी केन्द्रिय कार्यालयले निर्देशन दिने बताए।
'साइबर ब्युरोले दर्ता गरेन भने रानीपोखरी( उपत्यका प्रहरी आयुक्त कार्यालय) बाट दर्ता गर्नुहोला। कुनै पनि हिंसाको घटना प्रहरीले दर्ता गर्नुपर्छ,उनले भने।'
जेठ १९, २०७९ बिहीबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।