समुदायको विरोधपछि यौन दुर्व्यवहार पीडित अभिनेत्री मिरुना उल्टो माफी माग्दै

समुदायको विरोधपछि यौन दुर्व्यवहार पीडित अभिनेत्री मिरुना उल्टो माफी माग्दै

काठमाडौँ : यौन दुर्व्यवहार आरोपी  धरौटीमा रिहा भएपछि पनि आलोचना नरोकिएपछि पीडित अभिनेत्री मिरुना मगरले आफ्नो कार्य कुनै धर्म र समुदाय विरुद्ध नभएको बताएकी छिन्।

लामा पोसाकमा रहेका फुर्पा तामाङमाथि यौन दुर्व्यवहार आरोप लाग्दा केही व्यक्तिले यसलाई लामा समुदाय र बौद्ध धर्ममाथिको आक्रमण भन्दै दुष्प्रचार गरेपछि मिरुनाले सामाजिक सञ्जालमा आफ्ना धारणा राखेकी हुन्।

टिकटकमा सार्वजनिक भिडियोकै आधारमा मिरुनामाथि गलत व्यक्तिलाई आरोप लगाएको आक्षेप लागिरहेको छ। सहमति पत्रमा तामाङले आफूले गल्ती गरेको भन्दै मागेको माफीलाई समेत केही व्यक्तिले दबाबमा माफी मगाएको र उ निर्दोष भएको तर्क गरिरहेका छन्।

मिरुनाले फेसबुकमा सार्वजनिक गरेको धारणामा उनले तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढङ्गले मलाई छोएको र आफूबाट भएको दुर्व्यवहारको लागी माफी मागेपछि माफी स्वीकार गरेको उल्लेख गरेकी छिन्।

'जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाज विरुद्ध नभई ब्यक्ती विरुद्ध भएता पनि यस घटनाबाट जान आन्जानमा दुखित हुनुहुने बृहत् समुदायमा म हार्दिक क्षमा याचना गर्दछु' उनले लेखेकी छिन्।

उनले यौन दुर्व्यवहार पक्षमा उभिन आग्रह गर्दै लेखेकी छिन्' चुपचाप आफूले कहिल्यै दुख नसहनुहोस् र गलतको विरुद्ध जहिलै लडनुहोस, अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिन परिवर्तन अवश्य होला !'

उनको धारणा

नमस्ते ।

जेठ १५ गते सिभिल मलमा भएको पछिल्लो घटना र त्यसपछि जेठ १७ गते भएको सम्झौताको सन्दर्भमा म निम्न कुराहरू प्रस्तुत गर्न चाहन्छु।

१ - फूर्पा तामाङ ले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढङ्गले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारको लागी निःस्वार्थ रूपमा माफी मागेको र मैले वहाँको माफी स्वीकार गरेकी छु । सबै पक्षका अग्रज प्रतिनिधि, वरिष्ठ लामा गुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो । जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाज विरुद्ध नभई ब्यक्ती विरुद्ध भएता पनि यस घटनाबाट जान आन्जानमा दुखित हुनुहुने बृहत् समुदायमा म हार्दिक क्षमा याचना गर्दछु ।

२ - यस कठिन समयमा मलाई दिनुभएको अपार समर्थन र हिम्मत अनि मायाको लागी म मेरा सम्पूर्ण सहयोगी मन, प्रशंसकहरू, आफन्तहरू र नेपाली दर्शकहरू सबैमा हृदय देखी कृतज्ञता प्रकट गर्दछु।

३ - तपाईँहरू मध्ये धेरैले मसँग बाँड्न आउनु भएको मेरा जस्तै घटनाका कथाहरूबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाहरू बाट साहस जुटाउन सकेकोमा म तपाईँहरूको प्रशंसा नगरी रहन सक्दिन। चुपचाप आफूले कहिल्यै दुख नसहनुहोस् र गलतको विरुद्ध जहिलै लडनुहोस, अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिन परिवर्तन अवश्य होला !

"कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन."

मिरुना मगर २०७९ जेठ १९

जेठ १९, २०७९ बिहीबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।