ओली र देउवासँग भेटपछि मेयर बालेन्द्रले भने' सहकार्यको पहल हो, अन्यथा नबुझिदिनु'
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटको तस्बिर सार्वजनिक गर्दै काठमाडौँको उन्नतिका लागि भेटघाट गरेको बताएका छन्।
एमाले अध्यक्ष ओलीसँगको भेटको तस्बिर सार्वजनिक भएपछि अनेक टिप्पणी भएका थिए। एमाले अध्यक्ष ओलीसँगको भेटको तस्बिरलाई एमालेका नेता तथा सांसदहरूले अर्थपूर्ण भेट भन्दै सामाजिक सञ्जालमा राखेका थिए।
बुधवार देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेपछि उनले ओली र देउवासँग भेटेको तस्बिर राख्दै भेटबारे आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्।
उनले काठमाडौँको उन्नति, संवृद्धि र सकारात्मक परिवर्तनका लागि छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गरेको र यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएको उल्लेख गरेका छन्।
भेटको सिलसिला पछिसम्म पनि रहने भन्दै समय अनुकूलताका कारण कसैसँग अघि वा कसैसँग पछि भेट हुनसक्छ भन्दै यसलाई अन्यथा नबुझ्न अपिल समेत गरेका छन्।
उनले केही दिन अगाडि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको र बुधवार प्रधानमन्त्री देउवासँग भेटेको लेख्दै भेटघाटको क्रममा उनीहरूले दिएको प्रेरणाले थप ऊर्जावान् बनाएको उल्लेख गरेका छन्।
जेठ १८, २०७९ बुधबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।