कांग्रेसले दम्भ देखाए एमालेजस्तै बनाइदिने प्रचण्डको धम्की

कांग्रेसले दम्भ देखाए एमालेजस्तै बनाइदिने प्रचण्डको धम्की

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुमा दम्भ देखिए एमालेझैँ तह लगाउन बाध्य हुने बताएका छन्। उनले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचितहरूको प्रशिक्षण कार्यक्रममा कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन्।

कांग्रेसका नेताहरूको व्यवहार हेर्दा एमालेमा जस्तै दम्भ बढ्ने हो कि भन्ने देखिएको भन्दै उनले भने' स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी भइहालियो भनेर प्रदेश र सङ्घको निर्वाचनमा दम्भ देखाउने हो भने एमालेलाई जस्तै तह लगाउन बाध्य हुने छौँ।'

उनले माओवादी आफू एक्लैले केही नगर्ने, कहिले एमालेलाई ठुलो बनाइदिने अनि कहिले कांग्रेसलाई ठुलो बनाइदिने भन्ने आलोचना आउने गरेको र यो केही हदसम्म सत्य पनि भएको स्विकारे।

'यो हाम्रो रहर हैन। बाध्यता पनि हो। कमजोरी पनि होला। यसले कहिले एमालेको दम्भ बढाए त कहिले कांग्रेसको दम्भ बढाएको पनि छ,' प्रशिक्षणमा उनले भने' राष्ट्रियताको आवश्यकता, संविधानको आवश्यकताले गठबन्धन बन्छन्। तर बुर्जुवाहरूले त्यसको दुरुपयोग गर्छन्।'

उनले एमालेसँग गठबन्धन गर्दै एउटै पार्टी असल नियतले बनाए पनि त्यसले एमालेका नेताहरूको दम्भ बढ्दा विद्रोह गर्न बाध्य भएको दाबी गरे। उनले कांग्रेसमा पनि एमालेमा जस्तै दम्भ चुलियो भने एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई पनि ठेगान लगाउन नपरोस्' भन्दै चेतावनी दिए।

'हामीले मिहिनेत गरेरै प्रधानमन्त्री बनाएको हो। उहाँ प्रधानमन्त्री भइराख्नुस् भन्ने नै हो। अब माओवादी केही हैन स्थानीयमा धेरै जितिहालियो भन्ने हो भने एमालेलाई जस्तै तह लगाउन बाध्य हुनुपर्ने अवस्था आउन सक्छ।'

उनले आफूहरू आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्छ भन्ने पक्षमा रहेको समेत बताए।

जेठ १८, २०७९ बुधबार १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।