म खुइलिएँ, खुइल्याउन सफल हुनेहरुलाई शुभकामना : रवीन्द्र मिश्र

काठमाडौं : स्थानीय तहको निर्वाचनमा निराशाजनक परिणाम आएपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू राजनीतिमा 'खुइलिएको' स्वीकार गरेका छन्।
उनले आफूलाई खुइल्याउन सफल हुनेहरुलाई शुभकामना समेत दिएका छन्। बुधबार सामाजिक सञ्जालमा पोस्ट गर्दै मिश्रले केहीले प्रत्यक्ष भेटमै आफूलाई नखुल्याई राजनीतिक अभिष्ट पूरा नहुने बताएको पनि उल्लेख गरेका छन्।
'ती (अ)मित्र(हरू)मा समर्पित...' भन्दै उनले उनले लेखेका छन्, 'जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए- तपाईंलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि! अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पूरा होस्।'
मिश्रले भनेका छन्, 'यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईँ(हरू)लाई शुभकामना छ!'
मिश्रले स्थानीय निर्वाचनमा नराम्रो पराजय भोगेपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए। राजीनामा दिँदै उनले भनेका थिए, 'पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिनेछु।'
जेठ १८, २०७९ बुधबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।