चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौं : चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट ती भारतीय नागरिकलाई पक्राउ गरिएको हो।
भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी चाँदीका गहनासहित पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो।
चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो।
बरामद गरिएको गहनाको बजार मूल्य चार लाख ३८ हजार रुपैयाँ रहेको बताइएको छ। चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ।
जेठ १८, २०७९ बुधबार ०९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।