सरकारले म्यादी भूमिका बिर्सियो, संघीयता कार्यान्वयन गर्न चाहेन: एमाले उपाध्यक्ष पौडेल

काठमाडौंः एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको बजेट, बजेट जस्तो नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो भएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष समेत रहेका सांसद पौडेलले बजेट बनाउँदा सरकारले आफ्नो म्यादी भूमिका पनि बिर्सिएको बताए।
'यो सरकार आगामी चुनावसम्मको म्यादी सरकार हो। तर, उसले बजेट बनाउँदा आफ्नो म्यादी भूमिका बिर्सिएको छ', पौडेलले भने, 'चुनावी सरकारले निर्वाचनबाट आउने नयाँ सरकारलाई गह्रौं भारी बोकाउन पाउँदैन। तर, यो बजेटले दीर्घकालीन भार देशलाई बोकाउनेछ।'
उनले बजेटको प्राथमिकता निर्धारण पनि हचुवा भएको बताए।
नेता पौडेलले सरकारले ल्याएको बजेटले संघीयताको कार्यान्वयन गर्न नचाहेको पनि बताएका छन्। 'साना योजना केन्द्रले छनोट गर्ने र त्यो योजनासहित सीमित मात्राको ससर्त अनुदान प्रदेश र स्थानीय तहमा पठाउने भनिएको छ', उनले भने, 'यसबाट आफ्नो योजना आफैँले छनोट गर्ने र प्रदेश र स्थानीय तहको अधिकार कटौती गरिएको छ।'
उनले तल्ला तहका सरकारलाई केन्द्रले योजना पठाएर अधिकार खोसेको पनि बताए।
जेठ १७, २०७९ मंगलबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।