तारा एयर दुर्घटना: २२ जनाकै शव र विमानको ब्ल्याकबक्स भेटियो, काठमाडौं ल्याउने तयारी हुँदै

पोखराः मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका २२ जनाकै शव फेला परेको छ। सोमबार बिहान दुर्घटनास्थल पत्ता लागेपछि खोजतलासका क्रममा २१ जनाको मात्र शव भेटिएकोमा आज बिहान थप एक जनाको शव भेटिएको हो।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमानमा चालक दलका तीनसहित २२ जना यात्रु थिए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सबै मृतकको शव कोवाङ झारिसकिएको उकेरालाई बताए। उनले भने, ‘हामीले खोजतलासका त्रममा सबै शव फेला पारेका छौं। आज थप एक जनाको शव भेटिएकाले कोवाङ झारिसकेका छौंं। अब, मुचुल्का तयार पारेर काठमाडौं पठाउने तयारी भइरहेको छ।’
सोमबार कोवाङ झारिएका १० जनाको शव नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो।
यस्तै दुर्घटनाग्रस्त विमान ९एन- एईटीको ब्ल्याकबक्स समेत फेला परेको छ। दुर्घटनास्थलबाट ब्ल्याकबक्स समेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्त्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मी फिर्ता भएको प्रजिअ शर्माले बताए।
जेठ १७, २०७९ मंगलबार १०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।