तारा एयर दुर्घटना: थप १० जनाको शव कोवाङमा, एउटा शव भीरमै अड्कियो, एक जना बेपत्ता

तारा एयर दुर्घटना: थप १० जनाको शव कोवाङमा, एउटा शव भीरमै अड्कियो, एक जना बेपत्ता
फाइल तस्बिर

काठमाडौंः मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ। शवहरू कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो।

मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भीरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिए।

“सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौँ लगिसकेको छ”, उनले भने, “आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौं पठाउने तयारीमा छौं।”

आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९एन–एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। विमानमा तीन जना चालक दलका सदस्य र १९ यात्रु थिए।

विमान दुर्घटनास्थल थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट चार घण्टा उकालो पैदलयात्रामा पर्छ।

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए। उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाएका थिए।

जेठ १७, २०७९ मंगलबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।