बलात्कार र मानव बेचबिखन कसूरमा एक महिलासहित तीन जना पक्राउ

काठमाडौंः मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन्।
वीरगञ्ज–८ स्थित एउटा रेस्टुराँमा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज ल्याएर बसपार्कस्थित एउटा होटलमा पटक–पटक बलात्कार गरेको प्रहरीको आरोप छ।
यस्तै लक्ष्मीले जेठ १० गते युवतीलाई हरिचन्द्रनाथको जिम्मा लगाएको र वीरगञ्ज–१६ फूलबारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक–पटक बलात्कार गरेको प्रहरीको दावी छ।
जेठ १४ गते राति ९ बजे पीडित युवती सो स्थानबाट भागेर आफन्तको सम्पर्कमा पुगेपश्चात सो घटना बाहिर आएको हो। त्यसपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो।
प्रहरीले तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ।
जेठ १७, २०७९ मंगलबार ०८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।