दाहिनेतिर मोडिनुपर्नेमा देब्रेतिर मोडिदा विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौंः तारा एयरको विमान दुर्घटना हुनुमा प्रतिकूल मौसम कारण रहेको देखिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रारम्भिक अनुसन्धानमा खराब मौसम कारण देखिएको बताएका हुन्।
संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घटनाग्रस्त विमानका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए।
उनले घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने बताए। जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुस्वाँरे भन्ने भीरमा ठोक्किएर विमान दुर्घटना भएको हो।
हिजो बिहानैदेखि सम्पर्कविहीन अवस्थामा रहेको विमान आज बिहान मात्र भेटिएको हो। विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना थिए। उनीहरू सबैको ज्यान गएको छ।
जेठ १६, २०७९ सोमबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।