तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं लगिने

पोखरा : तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं लगिने भएको छ। आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानो स्वाँरेमा दुर्घटना हुँदा चालदका तीन सहित २२ जनाको मृत्यु भएको थियो।
आज बिहानमात्र दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएपछि अहिले स्थानीयको सहयोगमा नेपाल प्रहरी र नेपाली सेनाले शव संकलन गरिरहेको छ।
शव संकलन भएपछि घटनास्थलबाट सिधै काठमाडौं लगेर आफन्तको जिम्मा लगाउने नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।
उनले भने, ‘अहिले शव संकलनको काम भइरहेको छ। पहिले शव संकलन भएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा पोसमार्टम गरिने छ।’
आइतबार बिहानदेखि सम्पर्कविहीन भएर सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरको जहाज जहाज टुक्राटुक्रा भएको अवस्थामा भेटिएको थियो। अहिले क्षतविक्षत अवस्थामा भेटिएका यात्रुहरुको शव संकलनको भइरहेको छ।
मानमा आगलागी नभएकाले शव चिनिने अवस्था रहेको बताइएको छ। अहिले नेपाली सेना, प्रहरी र स्थानीयको टोलीले शव संकलन गरिरहेको स्थानीय समाजसेवी इन्द्रसिंह शेरचनले बताए।
जहाज समुन्द्र सतहदेखि ४ हजार ५ सय मिटरको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। जहाजमा चालक दलका ३, २ जर्मनी, ४ भारतीय र १३ जना स्वेदशी यात्रु रहेका थिए। क्याप्टेन प्रभावकर घिमिरेले उडाएको जहाजमा को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन्।
जेठ १६, २०७९ सोमबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।