काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिले आज पदबहाली गर्दै

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिले आज पदबहाली गर्दै

काठमाडौंः नवनिर्वाचित काठमाडौं महानगरका जनप्रतिनिधिले आज पदबहाली गर्दैछन्। महानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका हुन्।

काठमाडौंको मेयरमा स्वतन्त्रबाट बोलेन्द्र साह र उपमेयरमा एमालेबाट सुनिता डङ्गोल निर्वाचित भएका छन्। आज राष्ट्रिय सभा गृहमा उनीहरूसहित सबै जनप्रतिनिधिको शपथ ग्रहण रहेको छ। 

महानगरको कुल ३२ वडामा गरी प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेकाले यस पटक १६० जनप्रतिनिधि रहनेछन्।

महानगरको १९ वटा वडामा कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन्। १२ वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन्।

वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित ईश्वरमान डङ्गोल विजय भए। उनी काठमाडौं महानगरका पूर्व प्रवक्ता समेत हुन्।

तीन लाख २४२ मतदाता रहेको काठमाडौंमा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ। यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ।

जेठ १६, २०७९ सोमबार ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।