एमाले नेता विष्णु पौडेलको बजेट टिप्पणी 'बजेटमा पोजेटिभ केही पनि भेटिँदैन'

एमाले नेता विष्णु पौडेलको बजेट टिप्पणी 'बजेटमा पोजेटिभ केही पनि भेटिँदैन'

काठमाडौँ : एमाले नेता विष्णु पौडेलले सरकारले आइतबार ल्याएको बजेट चुनावमा भेट बटुल्न केन्द्रित भएर ल्याएको र त्यसमा सकारात्मक कुरा केही पनि नभएको दाबी गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० का लागि बजेट सार्वजनिक गरेपछि उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्।

उनको प्रतिक्रियाको सम्पादित अंश :

पाँच महिना आयु भएको सरकारले २५ वर्षको योजना अघि सारेको छ। यो सरकार चुनावी सरकार हो। त्यसैले बजेट पनि चुनाव लक्षित आएको छ। हावादारी दीर्घकालीन योजना ल्याइएको छ। अर्थतन्त्रमा सङ्कट आउने कुरा अर्थविद्हरुको छ। तर त्यसलाई सम्बोधन गर्ने कुरा छैन बजेटमा। कोसी र कर्णाली नदी जोड्ने आयोजना अघि बढाएको छ। ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। चुनावमा भोट बटुल्न पदीय दुरुपयोग भयो।

कोभिडले सहज भएको अवस्थामा समेत आर्थिक लक्ष्य भेटाउन सकेन भने अबको लक्ष्य भेट्न पनि सम्भव छैन। मुद्रास्फीति पनि ७ प्रतिशतको सीमामा राख्न सकिन्न।

स्रोतको अनुमानमानमा कुनै पनि दृष्टिकोणले सम्भव छैन। बजेटको विनियोजन पनि हावादारी छ। समग्रमा सरकार जनताप्रति उत्तरदायी भएर बजेट आएको छैन। यसमा पोजेटिभ केही पनि भेटिँदैन।

जेठ १५, २०७९ आइतबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।