वृद्ध भत्ताको उमेर घटाउँदै सरकारले सामाजिक सुरक्षामा छुट्ट्यायो एक खर्ब ३४ अर्ब

काठमाडौँ : सरकारले सामाजिक सुरक्षा अन्तर्गतका कार्यक्रमका लागि १ खर्व ३४ अर्ब १ करोड विनियोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९-०७० मा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिक, दलित ज्येष्ठ नागरिक, लोपोन्मुख आदिवासी जनजाति, मानव विकास सूचकाङ्क न्यून भएका लगायतका लागि बजेट विनियोजन गरिएको हो।
यसमा २५ जिल्लाका ५ वर्षसम्मका बालबालिका, दलित बालबालिका लगायतलाई उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता र औषधि उपचार तथा आर्थिक सहायता समेत समेटिएको छ।
सरकारले बजेटमार्फत घोषणा गरेको सामाजिक सुरक्षाका कार्यक्रम यस्ता छन् :
गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण, बाल्यावस्थामा खोप, पोषण र आधारभूत शिक्षा, माध्यमिक तहको शिक्षासँगै प्राविधिक सीप, युवावस्थामा शिक्षा र रोजगारीको सुनिश्चितता तथा वृद्धावस्थामा निःशुल्क उपचार, सम्मान र मर्यादित जीवनका लागि कार्यक्रम सञ्चालन गरिने।
विपन्न, ज्येष्ठ नागरिक, एकल महिला र सीमान्तकृत वर्ग तथा समुदाय लक्षित सामाजिक सुरक्षाका कार्यक्रमका लागि आवश्यक रकम विनियोजन।
राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारको लागि प्रदान हुँदै आएको जीवन वृत्ति रकमको निरन्तरता। राजनीतिक परिवर्तनको क्रममा घाइते योद्धाहरूको जीवन निर्वाह भत्ताको निरन्तरता।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत हाल ७० वर्षमाथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएकोमा आगामी आर्थिक वर्षदेखि यसको दायरा बढाई ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था।
सामाजिक सुरक्षा भत्ता नलिन स्वः घोषणा गर्ने लाभग्राहीहरूलाई सरकारद्वारा सम्मान।
सामाजिक संरक्षण र सुरक्षा कार्यक्रमलाई यथार्थपरक र वस्तुनिष्ठ रूपमा एकद्वार प्रणाली मार्फत सञ्चालन गर्न सामाजिक-आर्थिक सूचनासहितको एकीकृत लगत राख्ने व्यवस्था।
सामाजिक सुरक्षा कोषको रकम कामदारको स्वास्थ्य उपचार, कामदारको सन्ततिको शिक्षा तथा कामदारको परिवारको बिमा गर्न उपयोग गरिने। कोषको रकम व्यवसाय सञ्चालन गर्न र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चालन गर्न समेत उपयोग गरिने। कोषलाई दिगो बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न कानुनी प्रबन्ध गरिने।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुका साथै वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्न आवश्यक व्यवस्था मिलाइने।
ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिक, दलित ज्येष्ठ नागरिक, लोपोन्मुख आदिवासी जनजाति, मानव विकास सूचकाङ्क न्यून भएका २५ जिल्लाका ५ वर्षसम्मका बालबालिका, दलित बालबालिका लगायतलाई उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता र औषधि उपचार तथा आर्थिक सहायता समेतको लागि १ खर्व ३४ अर्ब १ करोड विनियोजन।
जेठ १५, २०७९ आइतबार २१:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।