सरकारले अपार्टमेन्टमा विदेशी लगानी खुलायो

काठमाडौँ : नेपालमा विदेशी नागरिकले घर किन्न नपाउने कानुन संशोधन गर्दै विदेशी नागरिकले पनि अपार्टमेन्ट किन्न पाउने कानुनी व्यवस्था गरेको छ। विदेशी नागरिकले नेपालमा घर-जग्गा किन्न कानुन अनुसारै रोक्का छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटमा निजी क्षेत्रले निर्माण गरेका एक सय युनिट भन्दा माथिका अपार्टमेन्टको २० प्रतिशतले हुन आउने अपार्टमेन्ट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।
घर-जग्गाको कारोबारमा मन्दी आएसँगै व्यवसायीहरूले विदेशी नागरिकले समेत अपार्टमेन्ट किन्न पाउने कानुनी व्यवस्था गर्न माग गर्दै आएका थिए। नेपालमा लामो समयदेखि व्यापार-व्यवसाय गर्दै बसेका भारतीय नागरिक लगायतकाले समेत नेपालमा घर-जग्गा किन्न पाउँदैनन्।
उता यही बजेटमार्फत सरकारले घर-जग्गा कारोबारको खरिद-विक्रीमा कडाइ गर्दै अनुमति प्राप्त एजेन्टमार्फत मात्रै घर-जग्गा कारोबार गर्न सक्ने व्यवस्था समेत गरेको छ। बजेटमा उल्लेख भए अनुसार यो अहिले महानगरपालिका र उपमहानगरपालिकामा लागु हुनेछ।
जेठ १५, २०७९ आइतबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।